गोरखा,२२ कात्तिक । विभिन्न स्वायत्त र संरक्षित क्षेत सहित गोरखामा २ नगरपालिका र ९ गाउँपालिका रहने गरी ११ वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय पुर्नसंरचना जिल्ला प्राविधिक सहयोग समितिको बैठकले मुस्लिम र कुमाल संरक्षित क्षेत्र हुने गरी गोरखा नगरपालिकामा देउराली र बुंकोट गाविस लाई गाभ्ने निर्णय गरेको छ । त्यस्तै पालुङटार नगरपालिकामा मिरकोट ,धुवाँकोट र खोप्लाङ्ग गाविस लाई गाभ्ने निर्णय गरेको छ । यसैगरी भोटेलामा स्वायत्त क्षेत्रका रुपमा सिर्दीवास रहने गरी चुमनुब्री गाउँपालिका ,तमु स्वायत्त क्षेत्रका रुपमा गुम्दा केन्द्रका रहने गरी धार्चे गाउँपालिका ,आरुचनौटे केन्द्र रहने गरी आरुघाट गाउँपालिका ,ताकुकोट केन्द्र रहने गरी सुलिकोट गाउँपालिका, बराम संरक्षित क्षेत्रका रुपमा वगुवा केन्द्र रहने गरी भीमसेन गाउँपालिका ,मगर स्वायत्त क्षेत्रका रुपमा घैरुङ्ग केन्द्र रहने गरी शहिद लखन थापा गाउँपालिका ,चेपाङ संरक्षित क्षेत्रका रुपमा भुम्लीचोक केन्द्र रहने गरी गण्डकी गाउँपालिका ,छोप्राक केन्द्र रहने गरी सिरानचोक गाउँपालिका र तामाङ ,भुजेल संरक्षित क्षेत्रका रुपमा भच्चेक केन्द्र रहने गरी अजिरकोट गाउँपालिका बनाउने खाँकामा सहमति भएको छ ।
गोरखाको स्थानीय तह निर्माणका क्रममा कुन गाविस कहाँ परेको छ जान्नका लागि तलका तालिका हेर्न सकिन्छ ।
गोरखा, १४ कात्तिक । गोरखाको बुंकोट गाविस वडा नं २ को लाखेडांडामा बसको ढोकाबाट खसेर आज बिहान उक्त बसका सहचालक १७ वर्षीय विकास परियारको मृत्यु भएको छ । गोरखाको फुजेलबाट सदरमुकाम तर्फ आउंदै गरेको ग.१.ख.२७८६ नम्वरको बस बाट खसेर फुजेल गाविस वडा नं २ घर भएका बसका सहचालक परियारको मृत्यु भएको गोरखाका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । बस र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा ,२७ असोज ।गोरखाको मकैसिङ्ग गाविसको कोहलडांडामा ट्रक दुर्घटना हुदा ४ जना घाइते भएका छन । दुर्घटनामा परेर रमिता श्रेष्ठ ,रिता श्रेष्ठ ,सानुकान्छा गुरुङ्ग र मिरा गुरुङ्ग घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मकैसिङ्ग गाविस वडा नं ७ बाट वडा नं २ तर्फ गइरहेको २५ यात्रु बोकेको बा.२.ख.६८३१ नम्वरको ट्रक कच्ची सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका मध्ये सानुकान्छा गुरुङ्ग र मिरा गुरुङ्ग लाई काठमाण्डौं र रमिता श्रेष्ठ थप उपचारका लागि काठमाण्डौं पठाएको छ । अन्य घाइतेहरु स्थानीय स्वास्थ्य संस्थामा उपचार पछि घर फर्किएका छन । चालक लाई प्रहरी नियन्त्रणमा लिएको छ ।
गोरखा,२३ असार । पहिरोमा पुरिँदा श्रीमती कान्छीमाया गुरुङको मृत्यु भएको खबर सुनेपछि घर फर्कंदै गरेका गोरखाको केरौंजा–३ का कृष्ण तामाङको मृत्यु भएको छ । सालो कृष्ण घलेको साथमा घर (केरौंजा) फर्कंदै गरेका तामाङको गएराति अकस्मात् अचेत हुँदा मृत्यु भएको हो ।पहिरोमा पुरिँदा केरौंजा–३ का ३० बर्षीया चीनमाया गुरुङ, ४५ वर्षीया कान्छीमाया गुरुङ र १५ वर्षीय सन्दीप घलेको मृत्यु भएपछि शोकमग्न गाउँलेहरु गएराति तामाङको पनि मृत्यु भएपछि थप पीडामा परेको केरौंजा–३ बोवाङका फिरेन्द्र घलेले बताए । तामाङको साथमा रहेका नाताले सालो पर्ने कृष्ण घलेको छोरा सन्दीपको पहिरोमा पुरिँदा मृत्यु भएको थियो ।छोरा सन्दीप र दिदी कान्छीमायाको मृत्युको खबर सुनेपछि साला, भेना घर फर्कंदै थिए । बाटोमा हिँडिरहेको अवस्थामा गएराति १२ बजे मनास्लु पदमार्गअन्तर्गत केरौंजा–९ स्थित यारुबगरमा बेहोस भई ढलेपछि तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गोरखा ,२५ कात्तिक । एक गैरसरकारी संस्थालाई बहुउद्देशीय भवन निर्माण गर्न सार्वजनिक जग्गा दिने वडा परामर्श समितिको निर्णयमा किर्ते हस्ताक्षरको प्रयोग भएको खुलाशा भएको छ । गोरखा नगरपालिका वडा नं ५ मा रहेको सार्वजनिक जग्गा मानवअधिकारका लागि एकल महिला समूह (डब्लु एचआर ) नामक संस्थालाई बहुउद्देश्यी भवन बनाउन दिने निर्णयमा वडा परामर्श समितिका सदस्य नेपाली कांग्रेसका निर बहादुर पुलामी र एकीकृत माओवादीका डोरबहादुर बस्नेतको हस्ताक्षर किर्ते गरेको खुल्न आएको हो । आफूहरु लाई थाहा नै नदिई सार्वजनिक विदाको दिन पारेर कात्तिक २१ गते बैठक बसेर डब्लुएचआर नामक उक्त संस्थालाई भवन बनाउन ५० बर्षको लागि सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णयमा आफूहरु दुई जनाको नाममा एमालेका काजीराम रोकाले किर्ते हस्ताक्षर गरेर नेपाली कांग्रेसका निर बहादुर पुलामी र एकीकृत माओवादीका डोरबहादुर बस्नेत जानकारी दिनुभयो । रोका गैसस महासंघ गोरखाका अध्यक्ष हुन । आफ्नो हस्तान्तरण किर्ते भएको थाहा पाए पछि निर्णय प्रतिलिपि माग्न गोरखा नगरपालिकामा जादा नगरपालिकाका कार्यकारी अधिकृत विजयभक्त उपाध्यायले १५ दिन अघि उपलब्ध गराउन नसक्ने भनी पन्छिएको एकीकृत माओवादीका डोरबहादुर बस्नेतले जानकारी दिनुभयो ।
गोरखा ,२९ जेठ । महाभूकम्पको पछि गोरखामा पीडितको उद्धार तथा राहत कार्यमा थुप्रै संघसंस्था निरन्तर रुपमा लागि परे । भूकम्प राहत तथा पीडितको प्रारम्भीक अवधिमा गोरखामा केही यस्ता मनकारी व्यक्ति पनि भेटिए उनीहरु संग नत कुनै संस्थाको पहिचान थियो न उनी गोरखाका थिए । केबल पीडितको भलाईका लागि निरन्तर लागि परेका मध्येका एक थिइन अमेरिकी निवासी समिशा जोशी लामेयर ।
अमेरिकाका नागरिक संग बिहे गरेर विगत १७ वर्ष देखि अमेरिका बस्दै आएकी समीशा जोशी भूकम्प पछि काठमाण्डौं स्थित आफ्नो आमाको शहिद स्मृति स्कुलको अवस्था र केही दिन आमाको हेरचाहका निम्ती नेपाल आएकी थिइन । तर काठमाण्डौंमा गोरखाको लागि राहत सामाग्री चाहिएको सुने पछि केही राहत सामाग्री लिएर गोरखा आएकी समीशा लाई उत्तरी दुर्गम गाविसहरुमा हेलिकप्टरको अभावमा राहत पुग्न नसकेको कुराले छोए पछि उनी व्यक्तिगत र साथी संग सहयोग जुटाउंदै हेलिकप्टर भाडामा लिएर राहत तथा उद्धारमा लागिन । समीशा जोशीले हेलिकप्टर भाडामा लिएर राहत पुग्न नसकेको गोरखाका ल्हो ,विही ,सामागाउं ,सौरपानी ,लाप्राक लगायतका गाउंमा सरकारको राहत ढुवानी गरिदिइन । आफू अमेरिकामा रहे पनि आफ्नो जन्मभूमिमा परेको पीडाले भावविह्वल बनाएको र आफूलाई भूकम्प पीडितको लागि काम गर्न पाउदा आफ्नो परिवार बचाएको महसुस भएको समीशा जोशी बताउंछिन । जोशी भन्छिन–“ म पनि आमा हो । घरमा बच्चा बच्चीले खान नपाउंदा आमा लाई कति पीडा हुन्छ । त्यो म अनुभव गर्न सक्छु । ”
जोशीको यही अभियानको क्रममा साथ मिल्यो राहत तथा उद्धारमै लागिरहेकी पासाङ्गल्हामु शेर्पाको । पेशाले हिमाल आरोही सोलुखुम्बु निवासी शेर्पा भूकम्प गए पछि राहत तथा उद्धारका लागि काम गर्ने क्रममा जोशी र शेर्पाको भेट भएको थियो । त्यस्तै छोरी संगै बसेर निरन्तर साथ साथ दिईरहिन उनकी वृद्धा आमा गौरी राणा जोशीले पनि ।
गोरखा ,३ चैत । गोरखा नगरपालिकाको आयोजनामा ३ दिने महिला शसक्तिकरण तालिम सम्पन्न भएको छ । गोरखा वडा नं ३ का महिला समूह ,टोल सुधार संस्थाबाट ३८ जना महिलाहरुको सहभागीता रहेकोप सो तालिममा नेतृत्व विकास ,सञ्चार ,बचत ,संस्था व्यवस्थापन ,जेण्डर , प्रस्ताव लेखन लगायतका विविध विषयमा तालिम दिइएको थियो ।
तालिम संयोजक बिना श्रेष्ठको सभापतित्वमा भएको तालिम समापन कार्यक्रममा राजनितिक नगर परामर्श समितिका तर्फबाट नेपाली कांग्रेसका राजनराज पन्त ,एमालेका सानुमाया बस्नेत ,एकीकृत माओवादीका कृष्ण राना ,नेपाल पत्रकार महासंघका भीमलाल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।
जुम्ला ,२ चैत । जुम्लाको रारालिहीमा सोमबार विहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृत्यु हुनेहरुमा ,जुम्लाको महादै पाथरखोला –७ का जितेन्द्र अधिकारी (१४),कालिकोटको फोइमहादेव–४ का कालिबहादुर बुढा (५५),कालिकोटको फोइमहादेव–४ का रेसम बुढा (५०)कालिकोटको फोइमहादेव–४ का हर्क बुढा (२५),जुम्लाको कालिकाखेतु–९ रतनबहादुर शाही (३५),जुम्लाको सनीगाउँ–८ का गाडी चालक सागर बुढा (२५),जुम्लाको नराकोट–६ का राजबहादुर बुढा (२६),जुम्लाका सनीगाँउ–२ का लालविरे शाही (५२),जुम्लाको बड्की–९ की पम्फा देवी रावत (४०),जुम्लाको बड्की–९ का पुष्पराज आचार्य (२०),जुम्लाको बड्की–९ मन बिजु रोकाया (१६),जुम्लाको तातोपानी–४ का सहचालक रण कामी (१७),जुम्लाको कालिकाखेतु–१ की धनलक्ष्मी न्यौपाने (२०),जुम्लाको सनीगाउँ–५ की रती रोकाया (४२),जुम्लाकोसनीगाउँ–२ का विजय शाही (६)र जुम्लाको महादै पाथरखोला–९ की नाम नखुलेका ९ महिने बालिका छन् ।दुर्घटनामा परी गम्भीर घाइते सनीगाउँ–५ जुम्लाका हिमाली रोकाया, शिवकली रोकाया र चन्दननाथ नगरपालीका निचागाँउ जुम्लाका कलविर नेपालीलाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ ।जुम्लाबाट कालिकोटका लागि छुटेको ना ४ ख ४९७० नम्बरको गाडी जुम्लाको रारालिही–१ काटकुडेनीमा सोमबार बिहान दुर्घटना भएको हो ।
गोरखा,९ फागुन । पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गोरखाको छैटौं साधारणसभा आज सम्पन्न भएको छ ।
साना शहरी खानेपानी महासंघका महासचिव चन्द्रकृष्ण कर्माचार्यको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष बद्री बहादुर मास्केको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा जिल्ला न्यायधिश प्रकाश कुमार काफ्ले ,एमालेका उपसचिव यादव बस्नेत , एकीकृत माओवादीका ज्ञानेन्द्र कुमाल ,नेकपा माओवादीका सहसचिव नारायण अधिकारी ,खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख नारायण प्रसाद आचार्य , नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ , गोरखा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष जीवनज्योति श्रेष्ठ , नगरसुधार समितिका अध्यक्ष मोहनलाल श्रेष्ठ , सल्लाहकार धिरजबहादुर मास्के लगायतले बोल्नुभएको थियो । साधारणसभामा सचिव भाइचन्द्र श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनोद अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गोरखा ,१८ माघ । कुनै बेला खोर्लावेशी जात्राको नामले जुवाको हार र मारको दृष्टिकोणबाट प्रसिद्धी कमाएको गोरखाको तातोपानी मेलामा जुवा निषेध गरिए पछि पहिचान पनि फेरिएको छ । कृषि तथा पर्यटन प्रर्बद्धनका उद्देश्यले स्थानीयको पहलमा गत माघ १६ देखि शुरु भएको तातोपानी मेला आइतवार सकिएको छ ।
यसवर्ष पनि जुवा रोक्न स्थानीय प्रशासनले नेपाल प्रहरीका निरीक्षक रविन्द्र खनाल र सशस्त्र प्रहरीका निरीक्षक सुशीलबावु पन्तको नेतृत्वमा ६३ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । तातोपानी मेला यसवर्ष पूरै जुवा मुक्त मेला रुपमा सम्पन्न भएको गोरखाका प्रहरी नायब उपरीक्षक रमेश थापाले दाबी गर्नुभयो । गत वर्ष देखि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेर जुवा निषेध गरेको हो । मेला आयोजना हुन १५ दिन अघि देखि नै जिल्ला प्रहरी कार्यालयले जुवा सञ्चालन गर्ने र खेल्ने दुवै लाई कानुनी कारवाही हुने जानकारी सहित सार्वजनिक सुचना जारी गरेको थियो । विगतमा उल्लेख्य सहभागीता रहने तातोपानी मेलामा जुवा रोकिए खेल्न नपाए सहभागीको संख्यामा कमी आएको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीयले भनाई छ । मेलामा कलाकारहरुको प्रस्तुती ,जातजातिका विभिन्न झाँकी प्रर्दशन ,कृषि प्रर्दशनी ,विविध खेलकुद प्रतियोगिता लगायतका विविध गतिविधि सम्पन्न भएको आयोजकले जनाएको छ ।
गोरखा ,१८ माघ । ७४ औं सहिद दिवसको सन्दर्भमा आइतवार गोरखामा लैङ्गीक हिसां सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार तथा शान्ति समाज र महिला तथा बालबालिका कार्यालय गोरखाको संयुक्त आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले लैङ्गिक हिसां विरुद्ध कानुन भएता पनि कार्यान्वयन पक्ष कमजोर भएको तर्क गरेका छन । स्थानीय विकास अधिकारी प्रेमराज गिरीको प्रमुख आतिथ्यता र महिला विकास अधिकृत सीता अधिकारी अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी नायब उपरीक्षक रमेश थापा ,अधिवक्ता स्थानेश्वर दुवाडी ,नेपाल पत्रकार महासंघका अध्यक्ष भीमलाल श्रेष्ठ ,लोकतान्त्रिक गैससका अध्यक्ष रबिकला खनाल ,मानवअधिकार तथा शान्ति समाजका सभापति यदु अधिकारी लगायतले बोल्नुभएको थियो ।
गोरखा ,१७ माघ । पश्चिमाञ्चल विकास क्षेत्रका कास्की ,गोरखा ,लम्जुुङ्ग ,पर्वत ,बाग्लुङ्ग लगायतका जिल्लाहरुमा शनिवार साँझ भूकम्प गएको छ । पोखरा केन्द्र नजिकै केन्द्र भएर शनिवार साँझ ७ .४४ बजे ४ दशमलव ८ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । कुनै क्षति भए नभएको जानकारी भने राती अबेर सम्म पनि प्राप्त भएको छैन ।
गोरखा ,१७ माघ । गोरखा नगरपालिका वडा नं ११ स्याउली स्थित माझीखोला तथा सिम्रेडाडाँ सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा हित बहादुर परियार चयन हुनुभएको छ । समितिको आज सम्पन्न २२ औं साधारणसभाले समितिको उपाध्यक्षमा राधिका पन्त ,सचिवमा धनजीत पन्त ,सहसचिवमा कमला केसी ,कोषाध्यक्षमा सुमित्रा अर्याल र सदस्यहरुमा सानु बि.क.,रघुनाथ अर्याल,पार्वती खनाल ,राममाया कुमाललाई चयन गरेको छ । त्यस्तै साधारणसभाले भगवति बि.क.,सरिता रोका ,भुवन परियार रहेको अनुगमन समिति र हरि प्रसाद अर्याल ,छन्द प्रसाद अर्याल ,चन्द्रकान्त संग्रौला ,तुलसी बहादुर पन्त र सन्तोषी केसी रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।
पोखरा ,१६ माघ । रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत समेत रहनुभएका पत्रकार दीपेन्द्र श्रेष्ठ टंकादेवी–तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार २०७१ वाट सम्मानित हुनुभएको छ ।श्रेष्ठले पत्रकारिताको माध्यमबाट समाजमा पु-याएको योगदानको कदर गर्दै उक्त पुरष्कारबाट सम्मान गरिएको हो ।
श्रेष्ठलाई शिक्षा विद् जोर्ज जोन, क्षेत्रीय प्रशासक दिनेकुमार थपलिया, पुरष्कारका संस्थापक सुर्वणप्रसाद कोइराला र मेची महाकाली मिडिया सोसाईटीका अध्यक्ष माधव संयुक्त रुपमा सम्मान गर्नुभयो। पोखराका सुर्वणप्रसाद कोइराला र उहाँका परिवारद्धारा माता टंकादेवी र पिता तुलसीप्रसादको स्मृतिमा स्थापित तथा मेचीमहा मिडिया सोसाईटी नेपालले संचाल्ऽन गरेको उक्त पुरष्कारको राशी नगद २० हजार १, दोसल्ला र सम्मानपत्र रहेको छ । झापामा जन्मिएर पोखरालाई कर्मथलो बनाउनु भएका श्रेष्ठ विगत १३ वर्षदेखि रेडियो अन्नपूर्णमा कार्यरत हुनुहुन्छ भन्ने यसअघि पनि श्रेष्ठलाई विभिन्न संघ संस्थाले सम्मान गरिसकेका छन् । यसअघि टंकादेवी–तुल्लसीप्रसाद स्मृति पत्रकारिता पुरष्कारबाट स्वर्गिय उमादेवी, रामकृष्ण ज्ञवाल्ऽी, रीता गुरुङ्ग, इश्वरी न्यौपाने र गणेश पाण्डे सम्मानित भइसक्नु भएको छ ।
गोरखा ,१५ माघ । फोटो सहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य गोरखामा शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय परिसरमा निरन्तर रुपमा फोटो सहितको नामावली संकलन कार्य नियमित गरेता पनि आगामी चैत सम्मका लागि अभियानकै रुपमा सबै गाविस र नगरपालिकामा पुग्ने गरी टोली परिचालन गरिने गोरखाका जिल्ला निर्वाचन अधिकारी निलकण्ठ शर्माले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन अधिकारी शर्माका अनुसार कम्प्युटर र सहायक नाम दर्ता अधिकारी सहित ४ वटा दर्ता टोली परिचालन गरिएको छ । संविधानसभाको निर्वाचन २०७० सम्म गोरखा जिल्लामा १,३८,६५७ जनाको फोटो सहितको मतदाता नामावली रहेकोमा अहिले सम्म त्यो संख्या बढेर १,४५,८९६ जनाको फोटो सहितको नामावली संकलन भइसकेको जिल्ला निर्वाचन कार्यालय गोरखाको तथ्याङ्कमा उल्लेख छ ।








