प्रहरी इन्काउन्टरमा कुमार ‘घैंटे’ मारिए
काठमाडौं,३ भदौ । गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’को प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । काठमाडौंको सामाखुसीमा विहीबार प्रहरीको गोली लागेर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
सामाखुसीको कपुरधारा व्रिटिश क्याप पछाडि सादा पोशाकमा रहेका प्रहरी र घैंटेको समुहबीच केहीबेर भिडन्त भएको थियो । कुमारको घर पनि त्यहिँ नै पर्दछ ।सर्च अभियानमा रहेका प्रहरीहरुले सेतो स्कूटरमा रहेका उनलाई रोकेर सोधपुछ गरेका थिए । त्यहिक्रममा उनले पेस्तोल निकालेर प्रहरीलाई एक राउण्ड गोली हानेका थिए । त्यसपछि प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । उनीमाथि जवाफी कारवाही गरेको प्रहरीले जनाएको छ ।घटनास्थलबाट एकथान हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रगतका टाटा छन् । घटनास्थललाई प्रहरीले रेखांकन गरेर नियन्त्रणमा लिएको छ । चन्दा असुली र आपराधिक घटनामा संलग्न कुमारलाई प्रहरीले मोष्टवान्टेडको सूचीमा राखेको थियो । उनी सामाखुसी लगायतका क्षेत्रमा चन्दा असुल्ने लगायतका गतिविधिमा संलग्न भएको, भूकम्प पीडितलाई सहयोग गर्ने भनेर राहत उठाएर आफूले खर्च गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments