भूकम्पमा मृत्यु हुनेको संख्या गोरखामा ३ सय ९१ पुग्यो
गोरखा ,१६ बैशाख । शनिवार मध्यान्ह गोरखाको वारपाकलाई केन्द्र विन्दु वनाएर गएको भुकम्पले गोरखामा चार सय भन्दा वढीको मृत्यु भएको छ । मंगलबार साँझ सम्म चार सय जनाको मृत्यु भएको पुष्टि भइसकेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । भुकम्पको केन्द्र विन्दु रहेको वारपाकमा ६९ जनाको ज्यान गएको छ । सिम्जुङमा ७१, गुम्दा ५१, लापु २६, लाप्राक १९, हंसपुर, खरिवोट र मुच्चोकमा ५/५ जनाको ज्यान गएको छ । हाल सम्म चार सय जनाको मृत्यु भएको पुष्टि भएपनि मृत्यु हुनेको संऋया अझै एकिन हुन नसकेको प्रहरी प्रमुख अर्जुन चन्द ठकुरीले जानकारी दिए ।
भुकम्पका कारण सयौँ मानिस घाइते भएका छन् । घाइतेहरुको उद्घारका लागी मंगलबार ६ वटा हेलिकप्टर परिचालन गरिएको थियो । तर खराव मौसमका कारण उद्घारमा कठिनाइ भएको छ । नेपाली सेना, मनाङ एअर, सिम्रिक एअर, श्रीएअर, भारतीय बायु सेवा निगम लगायतका हेलिकोप्टरले भुकम्पबाट घाइते भएकाहरुलाई उद्धार गरेको थियो ।
भुकम्प गएको चार दिनपछि गुम्दा, लाप्राक, सौरपानी, सिर्दिवास गाबिसमा रहेका घाइतेहरुको उद्धार सुरु भएपनि दिउँसो मुसलधारे बर्षाले उद्धारमा समस्या भएको छ । जिल्लाको बारापक, लाप्राक, गुम्दा, कासीगाउँ, केरौजाँ लापु, उहिया, सिर्दिवास गाविस वढी प्रभावित भएका छन् । केरौंजा, काशीगाउँ लगायत गाबिसमा तीन सय जनाभन्दा बढी स्थानीयबासी अझै हराइरहेका छन् । बस्ती माथि रहेको डाँडा भाँसिएपछि स्थानीयबासी सम्पर्कबिहीन भएका हुन् ।
मनास्लु पदमार्गमा गएका पर्यटकहरु पनि सम्पर्क बिहीन भएका जिल्ला दैविक प्रकोप उद्घार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धव तिमेल्सेनाले जानकारी दिए । लापु गाबिसको भीरमा ६ जना बिदेशी पर्यटक सहित २१ जनाको लाश भेटिएको छ । छोप्राक, खोप्लाङ्ग, हर्मी, आँपपीपल, मीरकोट, धुवाँकोट, देउराली, बक्राङ, मनकामना, घैरुङ्ग, मकैसिङ, भूम्लिचोकको चेपाङ गाउँ, बुंकोट, बोर्लाङ्ग, आरुपोखरी, तान्द्राङ्ग, आरुचनौटे, थुमी लगायतका गाउँहरुमा राहत सामग्री बितरणमा ढिलाई भएको भन्दै स्थानीयहरु आक्रोसित भएका छन् ।
छ वटा हेलिकप्टरले दुर्गम क्षेत्रमा उद्धार गर्ने बताईएपनि बुधवार दुईवटा हेलिकप्टरले लापुबाट छ जना लाप्राकबाट १३ जना बाहेकका घाईतेलाई उद्धार गर्न सकिएको छैन । सदरमुकाममा रहेका उत्तरी गाविसका स्थानीयका अनुसार अझै सयौँ घाईतेहरु दुर्गमका बिभिन्न गाविसमा छटपटाईरहेका छन् ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments