एन्फा अध्यक्षमा श्रेष्ठ निर्वाचित
Published Date :- October 24, 2016  On  |


काठमाण्डौं, ८ कात्तिक । नेपाली फुटबलको अभिभावकीय संस्था अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ विजयी भएका छन् । एन्फाका कावा अध्यक्ष श्रेष्ठ अर्का प्रत्याशी कर्माछिरिङ शेर्पालाई पाँच मतको साँघुरो अन्तरले हराउँदै निर्वाचित भएका हुन् । जम्मा ६७ मत रहेकामा श्रेष्ठले ३६ तथा शेर्पाले ३१ मत पाएका थिए । 
त्यस्तै रिक्त वरिष्ठ उपाध्यक्षमा पनि श्रेष्ठ समूहकै मणि कुँवर विजयी भएका छन् । कुँवरले शेर्पा समूहका दीपक खाती र एकल उम्मेदवारी दिएका उपेन्द्रमान सिंहलाई पछि परेका थिए । जसमा कुँवरले ३४, खातीले २५ तथा सिंहले ८ मत प्राप्त गरेका थिए । एन्फाको रिक्त अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि  निर्वाचन सम्पन्न भएको हो । यसअघि करिब २० वर्ष एन्फाका अध्यक्ष रहेका गणेश थापा भ्रष्टाचारका मुद्दामा १० वर्ष निलम्बनमा परेपछि नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । नयाँ नेतृत्वले डेढ वर्षको कार्यकाल सम्हाल्नेछ । विधानानुसार त्यसपछि चार वर्षको पूरा कार्यकालका लागि नयाँ निर्वाचन हुने बताइएको छ । थापालाई गत वर्ष विश्व फुटबल महासङ्घ (फिफा) ले भ्रष्टाचार मुद्दामा १० वर्ष निलम्बन गर्दै फुटबलको कुनै पनि गतिविधिमा समावेश हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।


,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....