शिक्षासेवी श्रेष्ठ रहेनन
Published Date :- July 6, 2016  On  |

गोरखा, २२ असार । गोरखाका शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व मोहननारायण श्रेष्ठको निधन भएको छ । मङ्गलबार बेलुकी काठमाडौँको न्यूरो अस्पतालमा श्रेष्ठको निधन भएको उहाँका आफन्त शीत्तलकाजी मास्केले जानकारी दिनुभयो । 
श्रेष्ठ लामो समयदेखि मिर्गाैलाको र पछिल्लो समय टाउकोसम्बन्धी रोगबाट ग्रसित हुनुभई अस्पतालको सघन उपचार कक्षमा उपचारत हुनुहुथ्यो । श्रेष्ठको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने आफन्तजनले जनाएका छन् । ७६ वर्षे श्रेष्ठका एक छोरा र चार छोरी हुनुहुन्छ । श्रेष्ठलाई गोरखाका अधिकांशले ‘हेडसर’ भनेर चिन्ने गर्छन् ।  शक्तिमा २४ वर्षसम्म प्रधानाध्यापकका रुपमा काम गरेकाले यसरी चिनिएको छिपिटोलका रामबाबु श्रेष्ठको भनाइ छ । उहाँले सो विद्यालयमा २०१८ देखि २०४२ सालसम्म प्राचार्य बनेर काम गर्नुभएको थियो । २०४२ सालमा विद्यालयबाट निवृत्त भएलगत्तै गोरखा मानविकी क्याम्पस (हाल द्रव्यशाह बहुमुखी क्याम्पस) स्थापना गरी संस्थापक क्याम्पस प्रमुख बनेर उहाँले काम गर्नुभयो । विसं २०६१ सालमा उहाँ क्याम्पस प्रमुखबाट राजीनामा गरी सोही क्याम्पसको अध्यक्ष बनेर २०७१ सालसम्म काम गर्नुभयो । श्रेष्ठ सबै विचारधाराका शिक्षकको साझा सङ्गठनको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गोरखाको संस्थापक अध्यक्ष पनि हुनुभएको थियो । त्यसबेला उहाँले जेलजीवन पनि बिताउनुप¥यो । उहाँ लायन्स क्लब अफ गोरखाका संस्थापक अध्यक्ष र हरि सांस्कृतिक केन्द्रको संस्थापक अध्यक्ष हुनुभएको थियो । साथै, पृथ्वी सांस्कृतिक परिवार र गोरखा साहित्य सङ्गममा पनि अध्यक्ष रहनुभएका र गोरखाका बामहस्ती भनेर चिनिने उहाँ पछिल्लो समय राजनीतिबाट निष्क्रिय हुनुभएको थियो । गोरखा नगरपालिका–१ छहरे स्थायी घर हुनुभएका श्रेष्ठ पछिल्ला दिनमा काठमाडौँ बस्दै आउनुभएको थियो । उहाँको निधनले गोरखाको शिक्षाजगत्ले गतिलो अभिभावक गुमाएको महसुस भएको पूर्वप्रधानाध्यापक तथा श्रेष्ठका समकालीन पुरुषोत्तम अर्यालले बताउनुभयो । गोरखाले शिक्षा क्षेत्रमा ठूलो फड्को मार्नुमा श्रेष्ठको भूमिका रहेको अर्याल बताउनुहुन्छ । रासस

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....