आतङ्ककारीलाई सघाउँदै वल्ड भिजन
Published Date :- August 6, 2016  On  |

तेलअबिब: इजरायलले संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको इसाई 'परोपकारी संस्था' वर्ल्ड भिजनका एकजना उच्च अधिकृतले करोडौं रुपैयाँ कट्टरपन्थी इस्लामिक समूह हमासलाई उपलब्ध गराएको आरोप लगाएको छ ।ती अधिकृत मोहम्मद अल हलावीलाई सीमा पार गरी गाजातर्फ जान लाग्दा जुन १५ मा गिरफ्तार गरिएको वर्ल्ड भिजनले जनाएको छ । बिहीबार इजरायली अधिकारीहरूले उनीविरुद्ध आरोप दाखिल गरेका छन् । हलावीले सन् २०१० देखि गाजामा कार्यभार समाल्दै आएका छन् ।इजरायली सुरक्षा निकायको हवाला दिँदै अमेरिकी टेलिभिजन एनबीसीले वर्ल्ड भिजनले करिब ७२ लाख अमेरिकी डलर रकम प्रतिवर्ष हमासलाई उपलब्ध गराउँदै आएको जनाएको छ । 
त्यो रकम गाजाका लागि वर्ल्ड भिजनले छुट्ट्याएको कुल रकमको ६० प्रतिशत हो ।इजरायली सुरक्षा निकाय सिनवेटले जारी गरेको एउटा वक्तव्यअनुसार गाजामा गैरसैनिक परियोजनाहरूका लागि प्रतिवर्ष छुट्ट्याएको १५ लाख डलर 'नगद' हमास लडाकुहरूलाई बुझाइएको छ ।साथै घाइते बालबालिकाका लागि छुट्ट्याइएको केही रकम पनि घाइते बालबालिकाको किर्ते सूची तयार गरी हमास परिवारहरूलाई उपलब्ध गराइएको उक्त सुरक्षा एजेन्सीले जनाएको छ ।'मनोवैज्ञानिक, शैक्षिक र स्वास्थ्य सुविधाअन्तर्गत छुट्ट्याइएको रकम हमास आतंकवादीलाई बुझाइएको छ', एजेन्सीको वक्तव्यमा उल्लेख छ ।उक्त क्षेत्रमा इजरायली सरकारका संयोजक मेजर जनरल योभ मोडैचाईले घटनालाई 'अत्यन्त गम्भीर' भन्दै गाजा, इजरायल र वेस्टब्यांकमा सन् १९७५ देखि कार्यरत वर्ल्ड भिजनलाई आफ्नो संस्था व्यवस्थित राख्न र घटनाको जिम्मेवरी लिन आग्रह गरेका छन् ।वर्ल्ड भिजनले मोहम्मदविरुद्धको आरोपबाट आफू दुःखी भएको भन्दै गाजाको जिम्मेवारी नियमित आन्तरिक तथा स्वतन्त्र 'अडिट', मूल्यांकन र आन्तरिक नियन्त्रणबाट निर्देशित रहँदै आएको दाबी गरेको छ । गिरफ्तारी र अगाडिको कारबाहीमा निष्पक्ष कानुनी प्रक्रिया माग गर्दै 'वर्ल्ड भिजन' ले आफूलाई उपलब्ध गराइने कुनै पनि प्रमाणलाई सावधानीपूर्वक समीक्षाका साथ त्यो प्रमाणमा आधारित उचित कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।यो घटनालगत्तै अस्ट्रेलिया सरकारले प्यालेस्टिनी क्षेत्रमा वर्ल्ड भिजनका लागि उसले दिँदै आएको सहयोग रोक्का गरेको एजेन्सीलाई उदृत गर्दै अन्नपूर्णपोष्ट डटकमले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....