आधुनिक घर निर्माणले बारपाकको मौलिकता गुम्दै
Published Date :- January 26, 2015  On  |

(गोरखा)वारपाक ,१२ माघ ।गोरखाको एउटा ऐतिहासिक र पर्यटकीय गाउँ बारपाक । विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजे घलेको गाउं भएकोले बारपाक ऐतिहासिक महत्व त छदैछ । त्यति मात्र नभई बारपाक गाउँ विकास समितिका वडा नं ४ देखि ९ सम्मका गाउँहरुको एकै ठाउँ  र ढुङ्गाको छानो बाट बनेको परम्परागत घरहरुको एकैनास अवस्थितीले बारपाक परिचित पर्यटकीय गन्तव्य हो । तर आधुनिक घरहरु बन्ने क्रम बढे पछि बारपाकको सुन्दरता र मौलिकता नै लोप हुने अवस्थामा पुगेको छ । समुन्द्र सतह देखि एक हजार ९ सय १० मिटर उचाईमा रहेको वारपाक गाउँ विकास समितिका वडा नं ४ देखि ९ सम्मका झण्डै १५ सय भन्दा बढी सबै घरहरु भिरालो बनावटमा क्रमबद्ध रुपमा मिलेको अवस्थितीमा रहेको छ । कच्ची सडकको पहुंच संगै सिमेन्ट ,वालुवा रड ,इट्टा , ब्लक र जस्ताको प्रयोगबाट आरसीसी गरिएको घरहरु बन्ने क्रम बढे पछि बारपाक मौलिकता नै गुम्ने अवस्थामा पुगेको स्थानीय दुर्गा बहादुर घलेले बताउनुभयो ।
गोरखा वारपाक यात्राको क्रममा भेडी खर्कहरु , प्राकृतिक नारदपोखरी ,झरनाहरु ,मनास्लु हिमालका दृश्यहरु अवलोकन गर्न सकिन्छ । वारपाकका घाँटु ,मारुनी लगायतका साँस्कृतिक नृत्यहरु पनि प्रसिद्ध छन । मौलिक परम्परागत घर र गाउंका सुन्दर बनावटका कारण पर्यटकीय गन्तव्य बने पछि अहिले बारपाकमा होमस्टेहरु पनि सञ्चालनमा आएका छन । सडक विस्तार र सिमेन्टको पहुँच संगै आधुनिक प्रकृतिका घर बनाउने क्रम बढेको हो ।वातावरणीय हिसाबले जाडो याममा हिमपात समेत हुने बारपाकमा बाह्रै महिना चिसो हुने गर्दछ । बारपाकमा घले ,गुरुङ्ग लगायतका आदिवासी जनजाति र दलितहरु बसोबास रहेको छ । गोरखाको बाह्रकिलोबाट ३ घण्टाको बसको यात्रा पछि गोरखाको वालुवा पुगिन्छ । वालुवा देखि रमणीय दृश्यको अवलोकन गर्दै ७ घण्टाको पैदल यात्रा वा हिउँदमा ३ घण्टाकै जीप लगायतका सानो सवारी साधनको यात्रा पछि वारपाक पुग्न सकिने स्थानीय खेम घलेको भनाई छ ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....