फेरी घट्यो पेट्रोलिमय पदार्थको मूल्य
Published Date :- February 2, 2015  On  |

काठमाण्डौं ,१९ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। निगमले डिजेल र मट्टितेलमा डेढ रुपैयाँ तथा पेट्रोलमा दुई रुपैयाँ ५० पैसा भाउ घटाएको हो। निगमले सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुने गरी नयाँ मूल्य तोकेको हो। घटेको भाउ अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ८६ रुपैयाँ ५० पर्छ। यसअघि यी पदार्थको मूल्य ८८ रुपैयाँ प्रति लिटर थियो। यस्तै पेट्रोलको मूल्य प्रतिलिटर एकसय नौ रुपैयाँ पर्नेछ। यसअघि पेट्रोलको मूल्य एकसय ११ रुपैयाँ ५० पैसा थियो।भारतीय आयल निगमबाट नयाँ मूल्य सूची प्राप्त हुने बित्तिकै मूल्य समायोजन गरेको हो। स्वचालित मूल्य प्रणाली अनुसार निगमले आइतबार नै भाउ घटाउनु पर्ने भएपनि भारतमा बिदा परेकाले सोमबारमात्रै मूल्य समायोजन भएको हो। निगमले असोज १३ गते यता हरेक १५/१५ दिनको अन्तरमा पेट्रोलिमयम पदार्थको मूल्य समायोजन गर्दै आएको छ।नयाँ मूल्य अनुसार निगमलाई अब ग्यासमा प्रतिसिलिन्डर ४० रुपैयाँ मात्रै घाटा छ। यसअघि यो घाटा बढेर ११ सय रुपैयाँसम्म पुगेको थियो। ग्यासमा घाटा उल्लेख्य रुपमा घटेसँगै निगमको नाफा भने बढ्ने देखिन्छ। निमगले गत महिना ३४ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो। निगमले खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरेको छैन।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो पाँच वर्ष यताकै न्यून भएसँगै नेपालमा पनि भाउ घट्दै आएको छ। यद्यपि निगमले अन्तर्राष्ट्रिय बजारको अनुपातमा मूल्य समायोजन नगरेको भन्दै उसको आलोचना हुँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५० डलर प्रति ब्यारेलको हाराहारीमा आएको भए पनि नेपालमा भने थोरै मात्रै मूल्य समायोजन गर्ने गरेको हो।यसअघि निगमले यही माघ ४ गते पेट्रोलियम पदार्थको भाउ घटाएको थियो।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....