प्रश्नावली प्रस्तावको कार्यविधि प्रति राप्रपा नेपालको असन्तुष्टि
Published Date :- February 2, 2015  On  |

काठमाण्डौं ,१९ माघ । संविधानसभाको चौथो शक्ति राप्रपा नेपालले संविधानसभाबाट बाहिरिने चेतावनी दिएको छ । प्रश्नावली प्रस्ताव समितिले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको प्रतिकुल हुने गरी प्रश्न नबनाउने कार्यविधि बनाएको असन्तुष्टिस्वरुप राप्रपा नेपालले संविधानसभाबाट बाहिरिने चेतावनी दिएको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सोमबार दिउँसो सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रश्नावली समितिले आफ्नो निर्णय सच्चाएर संविधानसभामा सबै विषयमा प्रश्न उठाउने ग्यारेण्टी नगरे आफ्नो पार्टी संविधान निर्माण प्रक्रियाबाट अलग हुन बाध्य हुने बताउनुभयो ।एकीकृत नेकपा माओवादीसहितका १८ वटा राजनीतिक दल प्रश्नावली समिति बाहिर रहेका बेला राप्रपा नेपालको यो चेतावनीले संविधान निर्माणको काम थप जटिल हुने देखिएको छ ।राप्रपा नेपालका अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको विषयमा संविधानसभामा प्रश्न उठाउन पाईंदैन भन्नु अन्तरिम संविधान र संविधानसभाको नियमावली विपरित भएको भन्दै प्रश्नावली समितिलाई संविधानसभामा प्रश्नावली पेश गर्न नदिन सबै उपाय अवलम्बन गर्ने बताउनुभयो । संविधानसभामा राप्रपा नेपालका २४ जना सभासद छन् ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....