चलचित्र लेकाली रु फागुन १६ बाट
Published Date :- February 17, 2015  On  |

गोरखा , ५ फागुन । गोरखाको विभिन्न भागमा छायाङ्कन भएको गुरुङ्ग चलचित्र लेकाली रु तयार भएको छ । अठारसय खोला फिल्मस् प्रोडक्सन प्रा.लि. काठमाण्डौको दोश्रो प्रस्तुती गोरखा उत्तरी भेगको सांस्कृतिक पर्यटनमा आधारित चलचित्र लेकाली रु (लेकाली सोल्टिनी)को यही आउँदो फाल्गुण १६ गते काठमाण्डौको राष्ट्रिय नाचघर जमलमा पहिलो प्रदर्शनी हुन गईरहेको कुरा निर्माण पक्षले जनाएको छ । 
वीरबल घलेको कथा परिकल्पनामा प्रितम गुरुङ्गको लेखन र निर्देशनमा निर्मित चलचित्रमा कलाकारहरु वीरबल घले, अनुता गुरुङ्ग, बुध गुरुङ्ग , आईतराम गुरुङ्ग, सब्बु गुरुङ्ग, राज गुरुङ्ग ,सुक गुरुङ्ग, प्रेम गुरुङ्ग र खेम काले गुरुङ्गको मुख्य अभिनय रहेको छ । यस अघि सोही व्यानरमा निर्मित चलचित्र बारपाकी मायाका कलाकारहरु क्याप्टेन गुरुङ्ग र विशाल घलेले अतिथि भूमिका निभाएका छन् । त्यसै गरी चलचित्रको गीत संगीत आँशु लामा, गायन आँशु लामा र शान्ति गुरुङ्ग, छायाँकन अभिषेक माझी, नृत्य निर्देशन गोविन्द प्रभात र मनाङ गुरुङ्ग, द्धन्द्ध निर्देशन जनक गुरुङ्गको रहेको छ । उत्तरी गोरखाका रमणीय पर्यटकीय गाउँहरु बारपाक, लाप्राक, गुम्दा, आरुघाट र काठमाण्डौमा समेत सुटिङ गरिएको यस चलचित्रलाई राम बहादुर(सुके) गुरुङ्ग, आईतराम गुरुङ्ग, राज गुरुङ्ग(सुनु), प्रेम गुरुङ्ग, खेम काले गुरुङ्ग, ईशा गुरुङ्ग र सचि कार्की घले ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।मनोरम धार्चे मनासलु क्षेत्रको पर्यटकीय विषयवस्तुका साथै स्थानीय गुरुङ्ग संस्कृति, त्रिकोणात्मक प्रेम प्रसंग आदि कथा तथा उपकथाले गर्दा चलचित्र अत्यन्त राम्रो बनेको कुरा निर्माता मध्येका राम बहादुर(सुके) गुरुङ्गले जानकारी दिनुभयो। साथै मनमोहक हिमाली दृश्यहरु, रमाईलो गुरुङ्ग गाउँ र स्थानीय संस्कृतिहरुका साथै कथा अनुसारका गीत संगीत , द्वन्द्व ,दुःख सुखका कथाहरुले गर्दा यस चलचित्रले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने कुरामा निर्माताहरु ढुक्क रहेको देखिन्छ । उत्तरी भेगका चर्चित गाउँ ठाउँ र परिवेशहरु नामहरु समेटी तयार गरिएको हेर्दैमा अग्लो त्यही धार्चे डाँडा... बोलको सालैजो भाकाको गीत चलचित्रको आर्कषण रहेको छ ।

,

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....