जीर्णाेद्धार पूर्व मनकामना मन्दिरमा क्षमा पुजा
मनकामना(गोरखा ),१५ फागुन । गोरखाको मनकामना मन्दिरको जीर्णाेद्धार कार्यको शुरु गर्न पूर्व शुक्रवार क्षमा पुजा गरेको छ । मनकामना मन्दिरको प्राङ्गणमा काठमाण्डौंबाट आएका गुभाजुको एक समूहले तान्त्रिक विधिबाट क्षमा पुजा गरेको छ । सोही अवसरमा मन्दिरका पुजारी र ब्राह्मणहरुबाट बैदिक पुजा पनि सम्पन्न गरेको छ । नियमित पुजा केही घण्टाका लागि बन्द गरेर मनकामना मन्दिर बाहिर प्राङ्गणमा गरेको क्षमा तथा बैदिक पुजामा मनकामना मन्दिर जीर्णाेद्धार समितिका पदाधिकारीहरु ,मन्दिरका पुजारी ,मनकामना क्षेत्र विकास समितिका पदाधिकारीहरु र स्थानीयको सहभागीता रहेको थियो ।
यस पछि तिथि मिति जुराई शुभसाइत हेरेर मन्दिरको गजुर झिके पछि मात्र मन्दिरको औपचारिक रुपमा भौत्तिक जीर्णाेद्धार काम शुरु हुने मनकामना मन्दिर जीर्णाेद्धार समितिका अध्यक्ष नरेन्द्रबावु श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष ०६४÷०६५ गरेको इन्टीमेटको आधारमा पुरानो संरचना नविगार्ने गरी ८ करोड ५० लाख रुपियांको लागतका जीर्णाेद्धार कार्य गर्न लागेको र अनुमानित लागत मध्ये सरकारबाट ४ करोड सहयोग र भक्तजनबाट ४ करोड ५० लाख संकलन भइसकेको पनि मनकामना मन्दिर जीर्णाेद्धार समितिले जनाएको छ । यस अघि मन्दिरका लागि आवश्यक पर्ने झ्यालढोका ,खम्बा लगायतका काठमा सामाग्रीहरु निर्माण ,इट्टा निर्माण ,गजुर निर्माण लगायतका कामहरु भइरहेको थियो ।पुरातत्व विभागले झण्डै ३ सय ५० वर्ष पुरानो मनकामना मन्दिर काठहरु पुराना भएर कुहिएको र पटक पटक आएको भूकम्पबाट केही भाग ढल्कीए पछि मनकामना मन्दिर जीर्णाे बनेको थियो । विभिन्न साइतहरु हेर्ने पर्ने बैदिक र तान्त्रिक परम्परा पूरा गर्नु पर्ने भएकोले जीर्णाेद्धार कार्य लाई निर्धारित समयमा भन्दा केही बढी लाग्न सक्ने स्थानीयको अनुमान छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments