गोर्खाली कपको उपाधि गोरखकाली क्लबलाई
गोरखा ,२२ माघ । जिल्लामै अहिले सम्मकै धेरै पुरस्कार राशी गोर्खाली कप २०७१ फुटबल प्रतियोगिता उपाधि गोरखाका गोरखकाली युथ क्लबले जितेको छ । गोरखकाली युथ क्लबले आज भएको फाइनलमा गत वर्षका विजेता दि गुर्खाज युनाइटेडलाई १–० हराउंदै गोर्खाली कपको उपाधि जितेको हो ।
उपाधिको जित संगै गोरखकाली युथ क्लबले एकलाख नगद सहित आर्कषक शिल्ड हात पारेको छ । त्यस्तै सेमिफाइनल खेलेको दुई टिम सेनाको भैरबी दल गण र आयोजक हरमटारी क्लबले २०/२० हजार नगद पुरस्कार प्राप्त गरेको छ । विजयी टिम तथा खेलाडीहरु लाई अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले एक समारोह बीच पुरस्कार ,मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । गोरखाको स्थानीय हरमटारी क्लबले दोस्रो पटक गोर्खाली कप फुटबलको आयोजना गरेको हो ।
उपविजेताद्धारा पुरस्कार बहिष्कार
गोर्खाली कपका उपविजेता दि गुर्खाज युनाइटेडले भने बिजेता टिमले नाम दर्ता नभएको खेलाडी सहभागी गराएर खेल खेलेको भन्दै नगद ५० हजार राशीको पुरस्कार बहिष्कार गरेको छ । दि गुर्खाज युनाइटेडले पत्रकार सम्मेलन गरेर विजेता टिमले १६ नम्वरको खेलाडी टिमको खेलाडी नभई अरु नै खेलाडी सहभागी गराएर नियम विपरित खेलेको दाबी गर्दै आयोजक समक्ष आफूहरुले दर्ता गराएको उजुरी छानविन हुनुपर्ने माग गरेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments