द्रव्यशाह क्याम्पसको अध्यक्षमा मास्केको दाबी
गोरखा ,१६ माघ । गोरखाको लक्ष्मीबजार स्थित द्रव्यशाह बहुमुखी क्याम्पसका संस्थापक मध्येका एक धिरज बहादुर मास्केले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
द्रव्यशाह बहुमुखी क्याम्पस सञ्चालक समितिका वर्तमान कोषाध्यक्ष समेत रहनुभएका मास्केले शुक्रवार पत्रकार भेटघाट कार्यक्रम मार्फत आफू अध्यक्ष बन्न इच्छुक रहेको बताउनुभएको छ । पत्रकार भेटघाटमा अध्यक्षका दाबेदार धिरज बहादुर मास्केले भन्नुभयो –“ यो क्याम्पस मात्र गोरखाका धेरै शैक्षिक संस्थाहरु स्थापनाका लागि मैले अगुवाई गरे । त्यसकारण पनि अब जीवनको बाँकी समय शैक्षिक क्षेत्रको सेवा गर्ने इच्छा छ ।” क्याम्पसका १४ जना संस्थापक मध्येका एक मास्के क्याम्पस स्थापना देखि वि.सं.२०५१ सम्म क्याम्पस सञ्चालक समितिको सदस्य र २०५२ देखि हाल सम्म कोषाध्यक्ष हुनुहुन्छ । होटल गोरखा बिसौनी प्रा.लि.का सञ्चालक तथा तुलसी मेहर युनेस्को क्लब गोरखाका अध्यक्ष समेत रहनुभएका धिरज बहादुर मास्के निर्माण व्यवासायी गोरखाका पूर्व अध्यक्ष ,गोरखा उद्योग वाणिज्य संघका संस्थापक सचिव हुनुहुन्छ ।द्रव्यशाह क्याम्पसमा शनिवार नयाँ सञ्चालक समिति गठन गर्ने कार्यक्रम रहेको छ ।
सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....
0 comments