मावलीको संझना
Published Date :- March 11, 2015  On  |

नारायण श्रेष्ठ

  • नारायण श्रेष्ठ
आमा संधै भन्नुहुन्थ्यो-पर्धानले सप्पैको काम गर्दिन्छ । धादिङ वेसी पुग्नु मात्र पर्छ।
माईतीको कुरामा आमा नोष्टाल्जिक बन्ने गर्नुहुन्छ । सायद यो अरु आमा र दिदी बहिनिमा पनि लागु हुँदो हो । साँझ विहान खाना खाजा खाने वेला धादिङ र मावली – द्वारथोकका कुरा बराबर जसो दोहोरिरहन्छ । र जेठान दाइको कुरामा बा पनि दंग पर्नुहुन्छ ।बा-आमाको कुराको प्रसंगमा बारम्बार दोहोरिने मैदीका पर्धानु – मावली गाउँका प्रधानपञ्च बलबहादुर श्रेष्ठलाई मैले धेरैपछिसम्म पनि भेट्न पाएको थिईनं ।

मेरो मानसमा प्रधान मामाुको तस्वीर अग्ला, हठी र हक्की स्वभावको मान्छेको रुपमा मात्रै आईरहन्थ्यो । मलाई लाग्थ्यो प्रधान मामासंग मेरा मावली गाउँमा सबै मामाहरु डराउँछन ।म सानै छंदा, स्कूल जाने उमेरभन्दा पनि पहिले, उनै प्रधान मामाका छोरा – गोपाल श्रेष्ठ, मेरो घरमा आए । लामै समय बस्ने गरि । एस एल सी जाँचको तयारीका लागि ।

गोरखा घ्याल्चोकको मेरो गाउँको मावि स्कुलको पढाई त्यो भेगमा अलि नाम चलेको थियो । गोपाल दाई दिउँसो ट्युसन पढ्न स्कुल जानुहुन्थ्यो । साँझ बिहान घरमै पढ्नुहुन्थ्यो । गोपाल दाईले नै हो मलाई गणितको १,२,३,४..... सिकाउनुभएलको । दाईकै कारण म स्कुल सुरु गर्दा  १ देखि सय सम्म गन्न सक्ने भैसकेको थिएं ।
यसरी सुर भयो मावली गाउँ र बलबहादुर मामासंगको संझनाको मेरो यात्रा ।
***       ***        ***   
मामाको घरु बाल उमेरमा हरेकका लागि रहर लाग्दो र तिलस्मी भएर आउँछ । म संझन्छु दशैं आउन लाग्दा मामाको घर जाने कुराले मलाई हप्तौं अघिदेखि रोमाञ्चित बनाईरहेको हुन्थ्यो । गोराखाको घ्याल्चोकबाट ६ घण्टाभन्दा बढी लगातार हिंडेपछि पुगिन्छ मेरो मावली धादिङको मैदी । अहिले कच्ची बाटोमै भएपनि मोटर गुड्छ त्यो ठाउँमा । तर त्यसबेला बुढी गण्डकीको किनारमा एकनासको नदिको सुसाई सुन्दै हिंड्नु पट्यारलग्दो हुन्थ्यो । मावली गाउँ पुगेपछि भेटिने आजु अजि र मामाको मायाको संझनाले त्यो थकाई कता कता अलप भएर जान्थ्यो ।दशैं आउनु पहिले नै सानोदाईसं मावली जाने योजना बनाउँथें म ।

मेरो सानो दाई, जसको संझना मात्र छन हामीसंग अहिले, र म दशैंको टिकाको भोलिपल्ट बाटो लाग्थें उनकै पछि लागेर । सिउरिनटारबाट बुढीगण्डकीको किनार लागेपछि कानमा जमरा लगाएका दोहोरीलत्तै बटुवाले हामीलाई बाटो कटाउन झन उत्साह थपिरहेका हुन्थे । ती यात्रिहरुको कानको जमारा घामको रापमा ओईलाईसकेको हुन्थ्यो । तर निधारको रातो टिका चैं चम्किलो देखिन्थ्यो ।नदि किनारको बाटो कहिले उकालो लाग्थ्यो । कहिले ओरालो । रुखका फेद र गेग्र्यान बाटोबाट हिंडदा सानो उमेरका हामी डराउँथ्यौ पनि । दर्वुङ फाँट पुग्दा प्राय अपरान्ह ढल्किसकेको हुन्थ्यो । गोरखा र धादिङ जील्लाको त्यस भेगकै चलेको बजार थियो त्यससबेला । अहिले फेरी वुढि गण्डकी परियोजनाको नाममा त्यो भेगमा अर्को चहलपल थपिएको छ । दर्बुङ फाँटमा मथुरा तता र जम्दार भिनाजुको घर थकाई बिसाउने चौतारी थिए हाम्रा ।

 चिउरा र मासु त खाजा भैहाल्यो । कहिले काहिं दाँतमा मासु अड्केर हैरान पनि हुन्थें । अलि बुझ्ने भएपछि जम्दार भिनाजुको लेवनन र शान्ति सेनाको गफ सुन्न जहिले म आतुर हुन्थें। भिनाजु दुई पटकसम्म शान्ति सेनामा जानुभएको थियो । अहिले संझना भएसम्म त्यसबेला उहाँले सुनाउने ती ठाउँहरु लेवनन, ईज्रायल र प्यालेस्टाईन हुनु पर्छ । नुनै नुनको समुद्रको कहानी सुनाउनुभएको पनि याद छ । अहिले अनुमान लाउछु त्यो पक्कै ‘डेड सि’ हुनुपर्छ । बिदेशको गफमा मेरो चाख अलि वेसी नै थियो । भिनाजु पनि आफ्नो कुरा सुन्ने केटोलाई सायद मन पराउनुहुन्थ्यो ।दर्बुङ फाँटबाट बुढि गण्डकी नदी तरेपछि खुर्सानेको उकालो सुरु हुन्छ ।

सालका बडेमानका रुख, घना जंगल, संधै  हामीलाई डर लागाउनेगरि उभिएका हुन्थे । त्यसै माथि त्यो जंगलमा भएका चोरी, मान्छे काटिएका भनेर अरु डरलाग्ने कुरा कैलेकाहीं आमा सुनाउनुहुन्थ्यो । जंगलको बिचतिर सालको पात सरसरायो भने हामी रुखजस्तै अचल हुन्थ्यौं । ठीङग उभिन्थौं । अनि डरले पातजस्तै लगलगाउँथ्यौं । थाहा छैन त्यो जंगको रुखहरु अहिले पनि उभिईरहेका होलान या तस्करको आँखामा परिसके,जब उकालोको केही भाग हामी हिंड्थ्यौं, सानो कुवाको चीसो पानीले मुख भिजाएर फेरी बाटो लाग्थ्यौं । असोज मास, भलायको फल रातै हुनेगरि फलेका हुन्थे । फलको रातो भाग खान्थ्यौं । कालो भाग फाल्थ्यौं । त्यसपछि मुख चिलाउँथ्यो । तर केटाकेटी उमेरमा त्यो बेग्लै मजाको काम हुन्थ्यो ।

त्यसमै हामी रमाउँथ्यौं ।ठुलोचौर मुनि पुग्दा सुर्का सुर्की खेतमा धानका पहेंला बाला लहलहाएका हुन्थे । तरेली परेको खेतमा पहेंला धानका बाला हेर्दै तर्पायाँ परेको बाटोमा हिंड्नुको मजा मैले यो जुनीमै कही पाउन्न होला १ त्यो यस्तो तस्वीर हुन्थ्यो जो मेरो मनमा अझै गडेको छ । त्यही झल्कोले होला बन्दीपुरबाट सरद यामको सुरुका दिनहरुमा मर्स्याङदी नदिको जलाधारमा देखिने गुमुक्क परेका पहाड, खेतको तरेली अनि विशाल क्षेत्रफललाई ओगट्ने परको हिमाल हेरेर म कहिल्यै अघाउन्न । जति हेर्छु उती मनमोहक लाग्छन । अझै हेर्छु, आँखा रसाउँछन खुसीले तर मन भरिन्न ।

जब ठुलोचौर पुगिन्थ्यो, मावली गाउँ पुगियो जस्तो लाग्थ्यो ।द्वरथोकको मावली गाउँमा मामा, मावली खलक कतिलाई भेटें । तर प्रधान मामालाई भेटेको मलाई संझना भएन । गोपाल दाईलाई कतिचोटी भेटें, कतिचोटी भेट्न सकिन ।मैदिको लेसाईलो माटो, ओसमा घिस्रिएर हिंड्ने चिप्ले किरा, पहेंलपुर सुन्तलाका बोट र बेलौती – मेरो संझनामा संधै आईरहन्छन । घ्याल्चोक टारको गर्मीबाट ११ सय मिटरको उचाईमा रहेको मैदी पुग्दा लेकमा पुगे जस्तो लाग्थ्यो मलाई ।

कोदोबारीको डिलबाट देखिने ुमानापाथिु हिमालको छाप अहिले पनि प्रष्ट मसंग । दशैंको जुनेली रातमा कौसिबाट देखिने सेतो हिमालको तरेली देखेर म कति रोमाञ्चित हुन्थें । कटुसको पात, खोल्साको पानी गाग्रीमा बोक्दै हिंडेका दिदिहरु, गुजुमुज्ज घर । मावली पुग्ने वित्तिकै आजु बतासे लैजाहुनुहुन्थ्यो हामीलाई र विस्कुट किनिदिनुहुन्थ्यो । यसरी उनिएर बसे मावली गाउँको मेरो संझना । 
                                                     ***       ***        ***  

धेरै पछि मेरो आफ्नै भाञ्जाको ब्रतबन्धमा म फेरि मावली गाउँ पुगें २०६९ सालमा । संझनामा अहिले पनि उस्तै थियो मेरो मावली गाउँ । तर यतिबेलासम्म त्यो गाउँमा मोटर पुगिसकेको थियो । कुवाको पानी अपलिफ्ट गरेर माथि गाउँ उचालिएको थियो । संधै विस्कुट किनिदिने आजु हुनुहुन्थेन । र यो समयमा मैले भेटें प्रधान मामालाई । उहाँ विरामी हुनुहुन्छ भन्ने त सुनेको थिएं ।

आँगनमा घाम ताप्दै हुनुहुन्थ्यो । नजिकै लौरो थियो । सायद साहारा बिना हिंड्न सक्नुहुन्थेन । त्यती धेरै सुनेको थिएं  मामाको बारेमा । केही कुरा गर्न चाहें तर उहाँ बोल्न सक्नुभएन । आँखा रसाए । मलाई भावुक बनायो परिस्थितिले । म पनि धेरै बोल्न सकिन । आत्मबल दरिलो बनाउन भनें र निस्किएं ।त्यसको करिव महिनादिन पछि प्रधान मामालाई बाँसबारीको न्युरो अस्पतालमा राखिएको थाहा पाएं । साँझ पुगें न्यूरो अस्पताल । आईसियुमा हुनुहुन्थ्यो । भेट्न पाईन । हप्तादिन जति पछि बलबहादुर सामरीजीको फोन आयो – मामा रहनुभएन ।र मामासंग गफ गर्ने मेरो धोको पनि अधुरै रह्यो ।
  •                             ***       ***        ***  

वर्षदिन पछि मेरो मोबाईलाम बलबहादुर सामरीजीकै मेसेज आयो – स्मृति ग्रन्थका लागि लेखको आग्रहका साथ । र आज लेखें मामाको संझनामा मावली गाउँको तस्वीर ।

0 comments

सूचना, समाचार र मनोरञ्जनको संवाहक | हरेक प्रहर, देश र गोरखाको खबर.....